काठमाण्डौ, ३० जुलाई, १४ साउन / संविधानसभामा प्रतिनिधित्व गर्ने साना बाम दलहरुले प्रधानमन्त्रीका दुवै उमेदवारले आ-आफ्नो उमेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिकोलागी नयाँ प्रयास थाल्न सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो उमेदवारको पक्षमा समर्थन जुटाउन नेपाली कांग्रेसले आज छलफलका लागी बोलाएका साना वाम दलहरुले दुइ दुइ पटक निर्वाचन हुँदासम्म पनि निर्णय हुन नसकेको र १७ गते पनि निकास निस्कने अवस्था नरहेकोले उमेदवारी फिर्ता लिएर नयाँ सहमतिको बाटो खोज्न आग्रह गरेका हुन् ।
छलफलमा काग्रेसले भने एउटा प्रक्रियामा अगाडि बढीसकेको अवस्थामा प्रक्रियालाई निश्कर्षमा नपुर्याईकन पछाडि नहटने भन्दै साना दलको प्रस्तावलाई अस्विकार गरिदिएको काग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिनु भयो ।
सिंहदरबार स्थित कांग्रेसको संसदीय दलको कार्यालयमा भएको छलफलमा नेकपा संयूक्त, लोकतान्त्रिक समाजवादी जनता दल, नेकपा मालेलगायतका सान दलहरुका शिर्षनेताहरुको उपस्थिति रहेको थियो ।
छलफलमा साउन १७ गते हुने प्रधानमन्त्रीको तेस्रो चरणको निर्वाचनमा तटस्थ नबसेर लोकतान्त्रिक पक्षधर उमेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेको प्रवक्ता केसीले जानकारी दिनु भयो ।
काग्रेसले एमाले र मधेसवादी दलहरु लोकतान्त्रिक दल भएको र उनीहरुले माओवादी नागरिक पार्टी नभएसम्म उसलाई नेतृत्व दिन नहुँने धारणा बनाईसकेकोले उनीहरुसँग पौडेललाई मतदान गर्नुको विकल्प नरहेको दावी गर्नु भयो ।
यसैविच, काग्रेसले सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुझाएको तीन बुदे अवधारणापत्रको लिखित जवाफ पठाउने भएको छ । आधारपत्रका बारेमा छलफल भईरहेको र चाडै १४ बुँदे लिखित जवाफ फर्काउने तयारी भईरहेको काग्रेस प्रवक्ता केशीले जानकारी दिनुभयो ।