खासमा सन् १९०३ मा बनेको "द ग्रेट ट्रेन रोबरी" विश्वको पहिलो सिनेमा मान्ने होभने सिनेमाले एक सय पाँच वर्षपार गरिसकेको छ । यसबीचमा हजारौं फिल्महरु बने तर थोरै मात्र कालजयी फिल्मले दर्शकको मन जित्न सकेका छन् । भारतीय फिल्म समीक्षक विजय अग्रवाल लेख्छन्- "कलात्मक चलचित्रको जन्म आफ्नो समयको आर्थिक, सामाजिक र राजनीतिक स्थितिहरुको गर्भमा भयो । यसैले यसको प्रसव पीडाको अलग्गै व्यथा छ । व्यावसायिक फिल्महरुको चका चौधका बीच परिस्कृत रुचि भएका फिल्महरु बनाउने साहस गर्नु कम चुनौतीको काम थिएन ।" यस बीचमा पनि कला चलचित्र लोकप्रिय चलचित्रको तुलनामा थोरै बनेका छन् जुन चलचित्रले चलचित्र क्षेत्रलाई नै बचाइरहन्छन् ।
फ्रान्सेली नयाँ चलचित्र (नाउभ वेग) ले साठीको दशकमा नै फिल्मकारहरुमा अलग वर्ग उभ्याइदियो । समानान्तर चलचित्र, कला चलचित्र र नयाँ चलचित्र नामबाट फिल्मकारहरुले आफूलाई उभ्याउन थाले । केवल एक भाषा उनीहरुको समान भयो, त्यो हो- दृश्य भाषा । जसको माध्यमबाट जीवनको यथार्थलाई पर्दामा उतार्न सक्नेछन् र कला चलचित्रको उद्देश्य हो- स्टार पद्धतिलाई भङ्ग गर्नु । तर कला चलचित्रको उमेर एक दशक पनि नपुग्दै यसमा समाहित कलाकार, निर्देशक र निर्माताहरुलाई लोकप्रिय चलचित्रको धारले बदल्न थाल्यो ।
१९५० अघि जापानको अन्तर्राष्ट्रिय बजारमा पहिचान थिएन । पचासको दशकमा आकिरा कुरोसावको "रासोमोन" को प्रदर्शनपछि सर्थक चलचित्रको निर्माण र प्रदर्शनमा जापान अग्रपंक्तिमा आयो । यही चलचित्रको असरले १९५५ मा भारतमा पनि त्यस्तै कालजयी फिल्म बन्यो जुन अहिलेसम्म पनि चलचित्रको आदर्श बनेको छ । १९५६ मा सत्यजीत रेको "पाथेर पाञ्चाली" को प्रदर्शनले त्यो कदमको अनुशरण गर्यो । फिल्म रिलिजपछि भारतलाई लाखौं विदेशी दर्शकले "सत्यजीत रेको देश" भनेर सम्झि थाले । "हिस्ट्री अफ फिल्म" र धेरै चलचित्रसम्बन्धी समीक्षा, आलोचना, पुस्तकका लेखक जैक सी एलिसले एसियाली निर्देशक सत्यजीत रेको "पाथेर पाञ्चाली" को प्रदर्शनको टिप्पणी गर्दै भनेका छन्- "त्यो एकदमै अप्रत्याशित घटना हो । एकदमै अपरिचित, सत्यजीत रे नामक एक युवकले कुरोसावाको फिल्मलाई पछ्याउँदै आफ्नो कृति प्रदर्शन गरे । जबकि कुरोसावाबाट प्रभावित भए पनि त्यसभन्दा भिन्नै र त्यसको प्रतिनिधित्व गरेको भन्न नमिल्ने खालको यो फिल्म, शुद्ध भारतीय माटोमा बनेको यसमा इटालीमा सुरु भएको नवयथार्थवादको प्रभाव चाँहि थियो । गहिरो सामाजिक सम्बन्ध, गैरअभिनेताहरु र छायाङ्कन भएका स्थलहरुमा अन्तर्राष्ट्रिय शैलीको अनुकरण थिएन ।"
भारतमा कला चलचित्रको आन्तरिक प्रेरणा स्रोत सत्यजीत रे नै हुन्, जसले "पाथेर पाञ्चाली" बनाएर विश्व चलचित्रको ध्यान आकृष्ट गरे र नेपाली सिनेकर्मी र दर्शकलाई पनि त्यसप्रति मोहित बनाए । पछिल्लो समय नेपाली चलचित्रले पनि लोकप्रिय चलचित्रको धार बदलेका हुन् । र कला चलचित्रतर्फ नेपाली फिल्मकारहरु आकृष्ट भएका छन् । नेपाली लोकप्रिय चलचित्रको धार बदल्नमा भारतमा बनेका सत्यजीत रे शैलीका फिल्महरुले एउटा बाटो बनाएको सत्य हो । सत्यजीत रे, मृणाल सेन, गोविन्द निहलाणी, बासु भट्टाचार्य, अडडुर गोपालकृष्ण, मणिकौल, कुमार साहनी, एसएस सथ्यु, कुन्दन शाह, मणि रत्नम, मीरा नायर, दीपा मेहता, अर्पणा सेनजस्ता भारतीय फिल्मकारहरुले नेपाली चलचित्रका दर्शक, निर्देशक र फिल्म समीक्षकको कला चलचित्रप्रति रुचि परिवर्तन गरेको मात्र नभई उत्साह पनि थपेको हो ।
लोकतान्त्रिक मुलुक भारत र तत्कालीन कम्युनिष्ट मुलुक रुसबीचको सम्बन्ध प्रगाढ बनाउन पनि भारतीय सिनेमाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकै हुन् । एक समय थियो जतिबेला राजकपुर तथा नरगिस दत्तका फिल्म रुसमा अति लोकप्रिय हुन्थे । अझै भारतलाई रसियनहरुले राजकपुर तथा नरगिसको देश भनेर चिन्ने गर्छन् ।
२०२२ सालमा हिरासिंह खत्रीको निर्देशनमा बनेको "आमा" र २००७ सालमा भारतबाट नेपाली भाषामा बनेको सत्य हरिशचन्द्रलाई पहिलो नेपाली फिल्म मान्ने हो भने नेपाली फिल्म यात्राले अहिले ४३ वर्ष पार गरिसकेको छ । यस अवधिमा एक हजारभन्दा बढी नेपाली फिल्म बने तर तीमध्ये एउटाले पनि आफूलाई उच्चकोटीमा पार्न सकेन । लोकप्रिय चलचित्रको धार बदलिए पनि कला चलचित्रमा फिल्मकारहरु ठ्याक्कै भिज्न सकेनन् ।
हुन त केही वर्षअघि नेपालमा "क्याराभान" बन्यो । यस फिल्मले नेपालको डोल्पालाई अमेरिका तथा युरोपका धेरै देशमा पुर्यायो । तर "क्याराभान" फ्रान्सेली निर्देशक एरिक भ्यालीको फिल्म बनेर रह्यो । नेपालमा बनेका केही कला चलचित्रले आफूलाई उचाइमा पुर्याएका हुन् । निर्देशक नवीन सुब्बाले "नुमाफुङ"लाई फ्रान्सको भेसोल सिनेमा महोत्सवमा पुर्याए । कला फिल्महरुमा नगर-गाउँसम्म सरोकार राख्ने तात्कालीन समस्याहरुलाई उठाइन्छ, जुन समस्यासित फिल्मकार भित्री तवरमा परिचित हुन्छन् ।
"नुमाफुङ"मा पनि त्यसै भएको थियो । भारतमा कला-फिल्मको जरो सुरु भएको सन् १९७० मा रफतारमा अघि बढ्यो र यसैको अन्तर स्रोत पछि नेपालमा दश वर्षछि "परालको आगो" मार्फत सुरु भयो । प्रताप सुब्बाले सुरु गरेको यो परम्पराले खासै गति लिन भने सकेन । त्यसपछि उनले परालको आगोहरु बनाउन सकेनन् । केही चलचित्र बनाएपछि आफैं ओझेल परे । फिल्मकार तत्कालीन समस्याहरुसित भित्री तवरमा परिचित हुन सकेनन् ।
देशमा फिल्म वितरणको सुव्यवस्था नभएको कारणले र कमजोरीले पनि नेपालजस्तो अल्पविकसित मुलुकमा सर्थक फिल्म बन्न सकेन । यसका पछिल्ला उदाहरण सस्ता नेपाली फिल्महरु हुन् जुन बौद्धिक दर्शकले हेर्दैनन् । नेपालमा केही कला चलचित्र बने पनि त्यसैको धारमा पछि तिनै फिल्मकारले त्यस्तो चलचित्र बनाउन सक्दैनन् । निर्देशक नीर शाहले डा. ध्रुवचन्द्र गौतमको उपन्यास "कट्टेल सरको चोटपटक" मा आधारित भएर "वासुदेव" बनाए तर पछि उनी त्यही बाटो हिंड्ने सासह गर्न सकेनन् ।
निर्देशक तुलसी घिमिरेले "दक्षिणा" बनाए । त्यस फिल्म बौद्धिक जमातको मन-मस्तिष्कमा बस्यो । तर, पनि कालजयी फिल्म बन्न सकेन । यहाँ "वासुदेव", "नुमाफुङ", "दक्षिणा", "परालको आगो", "बसन्ती" फिल्म राम्रा प्रयास हुन् । तर पनि यिनीहरुले आफूलाई कला चलचित्रको विशिष्ट धारमा उभ्याउन सकेनन् । कला चलचित्रको केही प्रभाव भए पनि यी फिल्महरुले लोकप्रिय चलचित्रको धार बदल्न सकेनन् ।
नेपालमा "नुमाफुङ" बने पनि "पाथेर पाञ्चाली" बन्न सकेन, "रासोमोन" बन्न सकेन । समानान्तर चलचित्र, कला चलचित्र र नयाँ चलचित्र किसिमका फिल्महरुको विशेषताका रुपमा कम बजेट, यथार्थ फिल्महरुमा आधारित विषयवस्तु र स्थानीय दृश्य महत्वपूर्ण हुन्छन् । नेपाली फिल्महरुमा व्यवासायिक र कला चलचित्रको धार छुट्टिए पनि कला चलचित्रलाई माध्यम बनाएर अघि बढ्न भने सकेन ।