काठमाण्डौ, ३० जुलाई, १४ साउन / दर्जनभन्दा बढी ज्यान मुद्दा लागेका चार्ल्स शोभराजको मुद्दाको रोकिएको फैसलाको आज अन्तिम टुंगो लाग्ने भएको छ । कुनै अवरोध नभए आज मध्यान्हपछि फैसलाको प्रक्रिया अघि बढ्ने सर्वोच्चका प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभएको छ ।
यस अघि मुद्धामाथि अझै छलफल हुन बाँकी रहेको भन्दै सर्वोच्च अदालतले अन्तराष्ट्रिय अपराधी चार्ल्स शोभराजमाथिको अन्तिम फैसला साउन १४ गते अर्थात आजसम्मका लागि सारेको थियो ।
नेपालभित्र र नेपालवाहिर गरी २० भन्दा बढी हत्या तथा अन्य आपराधिक घटनाका अभियुक्त चार्ल्स शोभराजको मुद्दाहरु सम्बन्धमा थप अनुसन्धान आवश्यक भन्दै अन्तिम फैसला आजसम्मका लागि सारिएको थियो ।
उनलाई यसअघि नै काठमाण्डौ जिल्ला अदालतले जन्मकैदको फैसला सुनाए पनि उनी फेरि सर्वोच्च गएपछि मुद्धा विचाराधीन छ । विभिन्न देशमा जेल तोडेर भाग्न सफल असाधारण अपराधी शोभराज २०६० साल आसोज ३ गते काठमाडौमा पक्राउ परेका हुन् ।